इरानमा थप सैन्य कारबाही रोक्न ट्रम्पविरुद्ध अमेरिकी तल्लो सदनको प्रस्ताव पारित

काठमाडौं । अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) ले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरुद्धको थप सैन्य कारबाही सीमित गर्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ।

युद्ध विस्तारको विरोधमा केही रिपब्लिकन सांसदसमेत उभिएपछि २१५ मध्ये २०८ मतका साथ प्रस्ताव अनुमोदन भएको हो। चार महिनादेखि जारी इरान युद्धका सन्दर्भमा ट्रम्पको युद्ध सम्बन्धी अधिकार सीमित गर्न अमेरिकी सांसदहरूले गरेको यो चौथो प्रयास हो।

प्रस्तावका समर्थकहरूले ट्रम्प प्रशासनले अमेरिकी कांग्रेसको स्पष्ट स्वीकृतिबिना युद्धको दायरा विस्तार गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूका अनुसार यस्तो कदम अमेरिकी संविधानको भावना विपरीत हुन सक्छ।

यद्यपि तल्लो सदनबाट पारित भएको प्रस्ताव तत्काल कानुन बन्ने छैन। त्यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटबाट पनि अनुमोदन हुन आवश्यक छ। सिनेटबाट पारित भए पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस अवस्थामा प्रस्ताव कार्यान्वयन गर्न दुवै सदनमा दुईतिहाइ बहुमत आवश्यक पर्नेछ।

यसैबीच अमेरिका र इरानबीच युद्धविरामको सहमति भएको बताइए पनि पछिल्ला दिनहरूमा दुवै पक्षबीच आक्रमण र प्रतिआक्रमणका घटना जारी रहेका छन्। यसले क्षेत्रीय तनाव अझै पूर्ण रूपमा अन्त्य नभएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया