काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास, आर्थिक प्रगति र समृद्धिका लागि भारत सदैव साझेदार बन्न तयार रहेको बताएका छन्। नयाँदिल्ली भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बुधबार भएको भेटमा मोदीले नेपालको प्राथमिकताअनुसार सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताएका हुन्।
झण्डै एक घण्टाभन्दा बढी चलेको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, साझा हितका क्षेत्र तथा विकास केन्द्रित सहकार्यका विषयमा छलफल भएको बताइएको छ। दुवै नेताले बदलिँदो राजनीतिक परिवेशमा द्विपक्षीय सम्बन्धलाई नयाँ दिशा दिन आवश्यक रहेकोमा जोड दिएका थिए।
भेटका क्रममा लामिछानेले आफ्नो पार्टी कुनै विगतको राजनीतिक बोझबाट मुक्त रहेको उल्लेख गर्दै भारतसँग नयाँ ढंगले सम्बन्ध विस्तार गर्न चाहेको धारणा राखेका थिए। जवाफमा मोदीले पछिल्लो निर्वाचनमा रास्वपाले हासिल गरेको सफलताको प्रशंसा गरेको स्रोतले जनाएको छ।
बैठकमा लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाका नेताहरू विपिन आचार्य र दीपक बोहोरा सहभागी थिए। भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा विदेश सचिव विक्रम मिस्रीलगायतको उपस्थिति रहेको थियो।
भेटवार्तामा पछिल्लो समय चर्चामा रहेको नेपाल–भारत सीमा विवादको विषय भने औपचारिक रूपमा नउठेको एक नेपाली अधिकारीले बताएका छन्। यद्यपि व्यक्तिगत तहमा चासो व्यक्त भएको हुन सक्ने उनको भनाइ छ।
हालै भारतको विदेश मन्त्रालयले नेपाल–भारत सीमा विवाद समाधानमा तेस्रो पक्षको मध्यस्थता अस्वीकार्य रहेको धारणा सार्वजनिक गरेको थियो। उक्त प्रतिक्रिया प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारे संसद्मा व्यक्त अभिव्यक्तिपछि आएको मानिएको छ।
भेटका क्रममा मोदीले भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा प्रकाशित लामिछानेको लेखको प्रशंसा गरेका थिए। उक्त लेखमा नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’ मार्फत नयाँ उचाइमा पुर्याउने अवधारणा प्रस्तुत गरिएको थियो।
स्रोतका अनुसार मोदीले नेपालको तीव्र आर्थिक विकासका लागि पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी बढाउन सुझाव दिएका थिए। साथै, ‘पहिले नेपालले आफ्ना प्राथमिकता तय गरोस्, त्यसमा भारतले पूर्ण सहयोग गर्नेछ’ भन्ने सन्देश पनि उनले दिएका थिए।
मोदीले नेपाललाई ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत प्रमुख साझेदारका रूपमा उल्लेख गर्दै दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।
भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले विगतका असहजताभन्दा माथि उठेर विकास, डिजिटल कनेक्टिभिटी र साझा समृद्धिमा आधारित नयाँ साझेदारी निर्माण गर्नुपर्ने बताएका छन्।
त्यस्तै मोदीले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाइसकेको र उनलाई दिल्लीमा स्वागत गर्न तयार रहेको सन्देश पनि लामिछानेमार्फत दिएका छन्।
दिल्लीका कूटनीतिक वृत्तमा लामिछानेको भ्रमणलाई सकारात्मक रूपमा हेरिएको छ। नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले यस भ्रमणले दुई देशबीचको विश्वास र समझदारीलाई थप मजबुत बनाएको बताएका छन्।