काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार देखिन थालेको छ। प्री–मनसुन सिजनको अन्त्यतिर पनि विदेशी पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ।
अध्यागमन विभागको विवरणअनुसार सन् २०२६ को मे महिनामा हवाई मार्गबाट १ लाख २ हजार ६ सय २६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.०३ प्रतिशतले बढी हो।
मे महिनामा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये भारतबाट सबैभन्दा धेरै ४० हजार ७ सय ८२ जना आएका छन्। त्यस्तै, चीनबाट ११ हजार ५ सय १४ जना र अमेरिकाबाट ९ हजार १ जना पर्यटक नेपाल आएका छन्।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार पछिल्ला वर्षहरूमा नेपाल आउने पर्यटकहरूको स्वरूप परिवर्तन हुँदै गएको छ। धार्मिक तथा मनोरञ्जनात्मक भ्रमणका लागि आउने परम्परागत पर्यटकसँगै प्रविधिप्रेमी, साहसिक गतिविधिमा रुचि राख्ने तथा दिगो पर्यटनलाई प्राथमिकता दिने युवा पर्यटकहरूको संख्या बढ्दो क्रममा रहेको छ।
तथ्याङ्कअनुसार मे महिनामा नेपाल आएका कुल विदेशी पर्यटकमध्ये ४७.२२ प्रतिशत हिस्सा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रहरूको रहेको छ।
सार्क मुलुकहरूमध्ये बंगलादेशबाट ५ हजार २ सय ९८, भुटानबाट १ हजार ३ सय ६०, श्रीलंकाबाट ५ सय ८० र पाकिस्तानबाट ४ सय ३४ जना पर्यटक नेपाल आएका छन्।
युरोपेली मुलुकहरूबाट पनि पर्यटक आगमन उत्साहजनक देखिएको छ। बेलायतबाट ३ हजार ३ सय ७५, जर्मनीबाट १ हजार ५ सय ४८ तथा फ्रान्सबाट १ हजार १ सय ५४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यस्तै, अष्ट्रेलियाबाट २ हजार ७० जना पर्यटक नेपाल आएका छन्।
पर्यटन विज्ञहरूका अनुसार भारत र चीनजस्ता प्रमुख स्रोत बजारबाट बढिरहेको आगमन तथा युवा पर्यटकहरूको आकर्षणले नेपाली पर्यटन उद्योगसँगै समग्र अर्थतन्त्रलाई सकारात्मक टेवा पुर्याउने अपेक्षा गरिएको छ।
उनीहरूका अनुसार आगामी दिनमा युवा पुस्तालाई आकर्षित गर्न डिजिटल भुक्तानी प्रणालीको विस्तार, गुणस्तरीय इन्टरनेट पूर्वाधार तथा साहसिक पर्यटन गतिविधिको विविधीकरणमा विशेष ध्यान दिन आवश्यक छ।