काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षतिको क्षतिपूर्तिका लागि निर्जीवन बिमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँभन्दा बढीको दाबी परेको छ । तर, असोज ३० गतेसम्म बिमा कम्पनीहरूले ८२ करोड १३ लाख ९० हजार रुपैयाँ मात्रै अग्रिम भुक्तानी गरेका छन् । यो कुल माग दाबीको करिब ३.९२ प्रतिशत हो ।
नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार बाढीबाट भएको क्षतिसम्बन्धी २ हजार ४९१ वटा दाबीमार्फत २० अर्ब ९० करोड ४९ लाख रुपैयाँ भुक्तानी माग गरिएको छ । त्यसमध्ये ११ वटा बिमा कम्पनीले मात्रै अग्रिम भुक्तानी दिएका छन् ।
बाढीबाट प्रभावित बिमितलाई राहत दिन प्राधिकरणले अनुमानित दाबीयोग्य रकमको ५० प्रतिशत अग्रिम भुक्तानी गर्ने व्यवस्था समेटेर छुट्टै कार्यविधि ल्याएको छ । तर, बाढी गएको करिब दुई महिनासम्मको विवरण हेर्दा कुल माग दाबीको तुलनामा अग्रिम भुक्तानी निकै कम देखिएको छ ।
यद्यपि, बिमितले माग गरेको कुल रकम र प्रारम्भिक मूल्यांकनपछि निर्धारण हुने दाबीयोग्य रकम फरक हुन सक्छन् । त्यसैले कुल माग दाबीको तुलनामा अग्रिम भुक्तानी ३.९२ प्रतिशत मात्रै भएको तथ्यांकका आधारमा सबै कम्पनीले ५० प्रतिशत अग्रिम भुक्तानीसम्बन्धी व्यवस्था उल्लंघन गरेको निष्कर्ष निकाल्न मिल्दैन ।
प्राधिकरणको असोज ३० गतेसम्मको विवरणअनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै २६ करोड ६३ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले २३ करोड २३ लाख र शिखर इन्स्योरेन्सले २१ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
त्यस्तै, दी ओरिएन्टल इन्स्योरेन्सले ४ करोड ३६ लाख, युनाइटेड अजोड इन्स्योरेन्सले २ करोड ५४ लाख र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ करोड ६३ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेका छन् ।
सिद्धार्थ प्रिमियरले ८० लाख, सानिमा जिआईसीले ७६ लाख, नेको इन्स्योरेन्सले ५७ लाख, एनएलजी इन्स्योरेन्सले ९ लाख ३० हजार र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ३ लाख ५ हजार रुपैयाँ अग्रिम भुक्तानी गरेका छन् ।
बिमाको क्षेत्रगत विवरणअनुसार सबैभन्दा धेरै रकम सम्पत्ति बिमामा दाबी गरिएको छ । यस क्षेत्रमा ५७६ वटा दाबीमार्फत ९ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ माग गरिएको छ । त्यसबापत १६ करोड २८ लाख ५१ हजार रुपैयाँ अग्रिम भुक्तानी भएको छ ।
इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमाअन्तर्गत १७४ वटा दाबीबाट ४ अर्ब ४० करोड १७ लाख रुपैयाँ माग गरिएकोमा १७ करोड ४० लाख रुपैयाँ अग्रिम भुक्तानी भएको छ ।
मोटर बिमामा सबैभन्दा धेरै १ हजार ६७ वटा दाबी परेका छन् । यस क्षेत्रमा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ माग गरिएकोमा २३ करोड ६६ लाख रुपैयाँ भुक्तानी भएको छ । परिवहन बिमामा १०५ वटा दाबीमार्फत २ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ माग गरिएको छ । यस शीर्षकमा २३ करोड ८९ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी भएको विवरणमा उल्लेख छ ।
कम्पनीगत रूपमा हेर्दा हिमालयन एभरेस्ट इन्स्योरेन्समा सबैभन्दा बढी ६ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ बराबरका २०९ वटा दाबी परेका छन् । सानिमा जिआईसी इन्स्योरेन्समा ३ अर्ब ४३ करोड ६ लाख रुपैयाँका १९२ वटा र शिखर इन्स्योरेन्समा २ अर्ब ६३ करोड ९१ लाख रुपैयाँका ४५९ वटा दाबी परेका छन् ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ७५ करोड ९१ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ अर्ब २५ करोड ३८ लाख र नेको इन्स्योरेन्समा १ अर्ब १ करोड ८९ लाख रुपैयाँ बराबरका दाबी परेका छन् ।
बाढीबाट भएको क्षतिको बिमा दाबी भुक्तानीमा प्रारम्भिक निरीक्षण, क्षतिको मूल्यांकन, दाबीयोग्य रकम निर्धारण र अन्तिम प्रतिवेदन तयार पार्ने प्रक्रिया महत्त्वपूर्ण हुन्छ । यी प्रक्रियामा लाग्ने समयले प्रभावित बिमितले क्षतिपूर्ति पाउने अवधिलाई प्रत्यक्ष असर गर्छ ।
तर, उपलब्ध विवरणमा हालसम्म कति दाबीको प्रारम्भिक मूल्यांकन सम्पन्न भयो र कति दाबी अन्तिम रूपमा फर्छ्योट भए भन्ने यकिन संख्या खुलाइएको छैन । त्यसैले बिमा भुक्तानीको वास्तविक प्रगति मूल्यांकन गर्न दाबीको संख्या र रकमसँगै मूल्यांकन तथा फर्छ्योटको अवस्थासम्बन्धी विवरण पनि आवश्यक देखिन्छ ।