काठमाडौं । साताको कारोबारमा सेयरबजारमा सामान्य सुधार देखिएको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेको छ।
यस दिन बजारमा ७ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कुल २ करोड १२ लाख कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
परिसूचक सामान्य बढे पनि कारोबार भएका कम्पनीमध्ये घट्नेको संख्या बढी छ। यस दिन ९८ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
बुधबार नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसका लगानीकर्ताले प्रतिकित्ता १२० रुपैयाँ २० पैसा आम्दानी गरेका छन्। त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य ११.४८ अंकले बढेको छ। अन्य केही कम्पनीको सेयर मूल्य पनि ८.६५ प्रतिशतसम्म वृद्धि भएको छ।
यस दिन केही कम्पनीको सेयर मूल्य भने ६.३४ प्रतिशतसम्म घटेको छ।
कारोबार रकमका आधारमा श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड पहिलो स्थानमा रहेको छ। कम्पनीको ८५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, घोराही सिमेन्टको ५१ करोड, हिमालयन रिइन्स्योरेन्सको ३६ करोड, एनआईसी एसिया बैंकको ३२ करोड र घलेम्दी हाइड्रोको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत परिसूचकतर्फ जीवन बीमा, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहमा हरियाली देखिएको छ। बाँकी समूहका परिसूचक भने घटेका छन्।