☰

विकास बैंकहरूको कर्जा लगानी तीन महिनामै १७ अर्बले बढ्यो

काठमाडौं । आर्थिक गतिविधिमा सुस्तता र लगानीको वातावरणमा देखिएको चुनौतीका बीच राष्ट्रियस्तरका विकास बैंकहरूले कर्जा प्रवाहमा सुधार गरेका छन्। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा आठ विकास बैंकको कुल कर्जा लगानी ३.७७ प्रतिशतले बढेको छ।

उपलब्ध विवरणअनुसार असोज मसान्तसम्म यी बैंकको कुल कर्जा लगानी ४ खर्ब ६८ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यस्तो लगानी ४ खर्ब ५१ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ रहेको थियो। यस अवधिमा विकास बैंकहरूको कर्जा लगानी १७ अर्ब ३ करोड ८२ लाख रुपैयाँले वृद्धि भएको देखिन्छ।

कर्जा विस्तारको वृद्धिदरका आधारमा मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि रहेको छ। बैंकले तीन महिनामा कर्जा लगानी ४.९४ प्रतिशतले बढाएको विवरणमा उल्लेख छ। असोज मसान्तसम्म बैंकको कर्जा लगानी १ खर्ब ५ अर्ब ४७ करोड ३३ लाख २१ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, लुम्बिनी विकास बैंकले कर्जा लगानी ४.३२ प्रतिशतले वृद्धि गरेको छ। गत असार मसान्तमा ४७ अर्ब ५ करोड रुपैयाँ रहेको बैंकको कर्जा लगानी असोज मसान्तसम्म ४९ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।

कामना सेवा विकास बैंकले पनि कर्जा प्रवाह ३.९५ प्रतिशतले बढाएको छ। असार मसान्तमा ५४ अर्ब २० करोड ३८ लाख ७१ हजार रुपैयाँ रहेको बैंकको कर्जा लगानी असोज मसान्तसम्म ५६ अर्ब ३४ करोड ५३ लाख ३३ हजार रुपैयाँ पुगेको छ।

यसैगरी, ज्योति विकास बैंकको कर्जा लगानी ३.८१ प्रतिशतले बढेर ५१ अर्ब ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तमा बैंकको कर्जा लगानी ४९ अर्ब ५८ करोड ६१ लाख रुपैयाँ रहेको थियो।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि कर्जा लगानी ३.३१ प्रतिशतले विस्तार गरेको छ। असार मसान्तमा ६३ अर्ब २१ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको कर्जा लगानी असोज मसान्तसम्म ६५ अर्ब ३१ करोड १२ लाख रुपैयाँ पुगेको छ।

सांग्रिला डेभलपमेन्ट बैंकको कर्जा प्रवाह २.९७ प्रतिशतले बढेको छ। बैंकको कर्जा लगानी असार मसान्तको ४५ अर्ब ७३ करोड ९२ लाख रुपैयाँबाट बढेर असोज मसान्तमा ४७ अर्ब ९ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

गरिमा विकास बैंकले तीन महिनामा कर्जा लगानी २.५७ प्रतिशतले बढाएको छ। गत असार मसान्तमा ७८ अर्ब २१ करोड ५६ लाख रुपैयाँ रहेको बैंकको कर्जा लगानी असोज मसान्तसम्म ८० अर्ब २२ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

महालक्ष्मी विकास बैंकको कर्जा विस्तार भने अन्य बैंकको तुलनामा कम देखिएको छ। बैंकले असोज मसान्तसम्म कर्जा लगानी १.४१ प्रतिशतले बढाएको छ। गत असार मसान्तमा ४३ अर्ब ३४ करोड रुपैयाँ रहेको कर्जा लगानी ६१ करोड रुपैयाँले बढेर ४३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

आर्थिक गतिविधिमा अपेक्षित सुधार नआएको, लगानीको वातावरण सहज नभएको र ठूला कर्जाको माग कमजोर रहेको अवस्थामा विकास बैंकहरूले साना तथा मझौला व्यवसाय र स्थानीयस्तरका आयमूलक क्षेत्रमा कर्जा विस्तारलाई प्राथमिकता दिएको देखिन्छ। प्रतिकूल परिस्थितिका बीच पनि कर्जा प्रवाह बढ्नुले विकास बैंकहरूको व्यावसायिक सक्रियता कायम रहेको संकेत गर्छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय