काठमाडौं । निर्देशक निशान बानियाँले “कर्मै खोटी छ” गीतबाट ५औँ म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ अन्तर्गत ‘सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक’को अवार्ड जितेका छन् ।
आज सम्पन्न अवार्ड समारोहमा “कर्मै खोटी छ” गीतको भिडियो निर्देशनका लागि बानियाँले उक्त अवार्ड प्राप्त गरेका हुन् । आफ्नो सांगीतिक यात्रामा प्राप्त यो सम्मानलाई उनले केवल पुरस्कारका रूपमा नभई सांगीतिक यात्रा र जीवनसँग जोडिएको अमूल्य सम्झनाका रूपमा लिएका छन् ।
विशेषगरी बुबाको मुख हेर्ने दिनकै अवसरमा अवार्ड प्राप्त हुनु उनका लागि थप भावुक र अर्थपूर्ण बनेको छ । दिवंगत बुबाले आफ्नो सांगीतिक यात्रा र सफलता प्रत्यक्ष रूपमा देख्न नपाए पनि उहाँको आशीर्वाद सधैँ साथमा रहेको अनुभूति हुने बानियाँले बताएका छन् ।
त्यसैगरी, वरिष्ठ गायक तथा सर्जक स्वर्गीय रत्न बानियाँप्रति पनि उनले विशेष सम्मान र कृतज्ञता व्यक्त गरेका छन् । रत्न बानियाँकै साथ, सहयोग, प्रेरणा र हौसलाबाट आफू सांगीतिक क्षेत्रमा प्रवेश गरेको उल्लेख गर्दै निशानले उहाँले देखाएको बाटो र दिएको प्रोत्साहन आफ्नो सांगीतिक यात्राका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
आज प्राप्त अवार्ड आफ्ना स्वर्गीय बुबा र स्वर्गीय रत्न बानियाँप्रति समर्पित गरेको निशानले बताएका छन् । आफ्नो सांगीतिक यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुवैप्रति उनले भावपूर्ण श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् ।
“कर्मै खोटी छ” गीतको भिडियो निर्देशनका लागि आफूलाई विश्वास गरेर जिम्मेवारी दिने सर्जक सुनिल केसीसहित गीतका सम्पूर्ण कलाकार, प्राविधिक तथा सहयोगीप्रति उनले आभार व्यक्त गरेका छन् । साथै, अवार्ड समारोह आयोजना गर्ने म्युजिक खबर परिवार, निर्णायक मण्डल तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ, माया र हौसला दिने सम्पूर्ण शुभचिन्तकलाई उनले धन्यवाद दिएका छन् ।