काठमाडौं । एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा शनिबार भएको फाइनल खेलमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।
नेपालका लागि ओपनर आशिफ शेखले शानदार शतक प्रहार गरे। उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए। आशिफको शतकसँगै नेपालले बलियो योगफल खडा गर्न सफल भएको हो।
यस्तै, गुल्सन झाले आक्रामक अर्धशतक बनाए। उनले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५२ रन जोडे। अर्का ओपनर अर्जुन कुमालले ६३ बलमा ६ चौकासहित ४३ रन बनाए।
नेपालका लागि रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ तथा बसिर अहमदले १५ रनको योगदान दिए।
युएईका बलर इब्रार अहमदले नेपालका ४ विकेट लिए। खुजइमा तनवीरले २ तथा हैदर अली र अदिव उस्मानीले समान १ विकेट लिए।
अब युएईले ३१४ रनको लक्ष्य पछ्याउनेछ। फाइनल खेल जित्ने टोलीले आगामी वर्ष आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गर्नेछ।