बिपी राजमार्गको क्षतिग्रस्त खण्ड चार भागमा पुनर्निर्माण हुने

काठमाडौं। गत असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्गको खण्ड चार भागमा पुनर्निर्माण हुने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले काभ्रेको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चार भागमा बाँडेर पुनर्निर्माण गर्ने जनाएको छ।

चार खण्डमध्ये तीन खण्ड नेपाल सरकारको लागतमा पुनर्निर्माण गरिनेछ भने एक खण्डको लागि जापान सरकारलाई अनुरोध गरिएको छ। तीमध्ये काभ्रेको दुई खण्ड र सिन्धुलीतर्फको एक खण्डका लागि बोलपत्र आह्वान भइसकेको छ।

काभ्रेतर्फ भकुन्डेबेंसीदेखि चार सय बेँसीसम्मको करिब ११ किलोमिटर, डालाबेंसीदेखि चार सय बेँसीसम्मको ८.५ किलोमिटर, र सिन्धुलीतर्फ बर्खेखोलाबाट नेपालथोकसम्मको ४ किलोमिटर सडक पुनर्निर्माणका लागि सूचना प्रकाशित गरिएको डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिए।

नेपाल सरकारबाट उक्त पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँ बजेट सुनिश्चित भइसकेको छ। त्यसमा काभ्रेतर्फका तीन खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुलीतर्फका लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ।

हालको अवस्थामा कार्यालयले आगामी मनसुनको बेला यातायात सञ्चालन गर्नका लागि अस्थायी सडकको उचाइ बढाउने कार्य गरिरहेको छ।

डालाबेंसीदेखि बर्खेखोलासम्मको ५.५ किलोमिटर सडकखण्ड जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका मार्फत पुनर्निर्माण गर्ने विषयमा छलफल भइरहेको छ। जाइका टोलीले स्थल निरीक्षण गरिसकेको र उनीहरू इच्छुक देखिएको अधिकारीहरूले जनाएका छन्।

उक्त सडकखण्डमा साना टनेल तथा अग्ला पुल (भायाडक्ट) निर्माणको सम्भावना रहेको र मोडहरू सीधा गर्नका लागि ५०० मिटर लामासम्मका सुरुङमार्ग बनाउन सकिने सम्भावना रहेको इन्जिनियर योगेशले बताएका छन्।

सडक पुनर्निर्माणका लागि सूचना प्रकाशित गरिएका खण्डहरूको सम्झौता जेठ पहिलो सातासम्म गर्ने योजना छ। निर्माणपछि इन्टरमिडियट लेनसहितको कम्तीमा दुई गाडी सहजै गुड्न सक्ने सात मिटर चौडाइको कालोपत्रे सडक बनाइनेछ। साथै, रोशीखोलामा पुनः बाढीको जोखिम रोक्न आरसिसी पर्खाल बनाएर नदीको सतहभन्दा तलबाट सडक निर्माण गरिनेछ।

बिपी राजमार्गको पुनर्निर्माणलाई चार प्याकेजमा विभाजन गरिएको छ र तीमध्ये एक खण्डको डिजाइन अहिले जाइकाले गरिरहेको छ। हाल अस्थायी मर्मतका लागि दैनिक ३७ उपकरण परिचालन गरेर सडक प्रयोगयोग्य बनाउने काम जारी छ।

जाइकाले बनाउँदै गरेको खण्डको निर्माण जिम्मा उसैले लिने कि नलिने भन्ने विषयमा भने अन्तिम निर्णय भइसकेको छैन। यसअघि पनि बाढीले क्षति पु-याएपछि जाइकाले राजमार्गको अध्ययन गरिसकेको थियो।

बिपी राजमार्गको निर्माण कार्य जापान सरकारको अनुदानमा आर्थिक वर्ष २०५३/५४ मा सुरु भएको थियो। २०७२ साल असार १८ गते जापान सरकारले औपचारिक रूपमा नेपाल सरकारलाई यो राजमार्ग हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया