काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको म्यादभित्र दर्ता नभएका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लाग्ने चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनको खुला सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमनको विषयमा सरकार दृढ रहेको बताए।
'तोकेको म्यादभित्र दर्ता नभएमा फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नेछ,' उनले स्पष्ट पारे।
सरकारले सामाजिक सञ्जाल दर्ताका लागि थप गरेको एक महिनाको म्याद सकिन केही दिन मात्रै बाँकी रहेको जनाउँदै उनले सम्बन्धित कम्पनीहरूलाई दर्ता हुन आग्रह गरे।
‘अब दुई/तीन दिन मात्रै बाँकी छ, तर कोही दर्ता गर्न आएको छैन,’ उनले भने, ‘सरकारलाई नै टेर्दैनन्।’