रसुवा बाढी पुनःस्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग उपलब्ध स्रोतसाधनका साथै दातृ निकायबाट प्राप्त हुने सहयोगसमेत परिचालन गर्ने तयारी गरिरहेको बताए।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलले विपद्पछि प्रभावित नागरिक र जनप्रतिनिधिको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। विपद्का समयमा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएर काम भएकोमा उनले खुसी व्यक्त गरे।

“यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्‍यौँ,” प्रधानमन्त्री शाहले भने।

सरकारले प्रभावित क्षेत्रमा जतिसक्दो छिटो सडक सञ्जाल पुनःस्थापना गर्ने गरी काम गरिरहेको उनले बताए। सडक सञ्जाल सञ्चालनमा आएपछि बाढी प्रभावित नागरिकलाई आफ्नो पूर्ववत् जीवनतर्फ फर्किन सहज हुने उनको विश्वास छ।

प्रधानमन्त्री शाहले नदी तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा रहेको विषय सरकारले सुरुआतदेखि नै उठाउँदै आएको उल्लेख गरे। स्थानीय जनप्रतिनिधिले समेत तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने धारणा राखेको भन्दै उनले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा व्यवस्थित बस्ती निर्माण गर्ने तयारी सरकारले थालेको जानकारी दिए।

नयाँ बस्ती निर्माण गर्दा प्रभावित नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति तथा अन्य सामाजिक आवश्यकतालाई ध्यान दिनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए। खेतीयोग्य जमिन संरक्षण गर्दै वैज्ञानिक ढंगले बस्ती व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।

यसका लागि स्थानीय जनप्रतिनिधिहरूलाई सुरक्षित स्थानमा जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न प्रधानमन्त्री शाहले आग्रह गरेका छन्।

प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको भेटबाट बाढीपछिको वास्तविक अवस्था बुझ्नसमेत सहयोग पुगेको प्रधानमन्त्री शाहले बताए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय