बाढी प्रभावित १५ स्थानीय तहलाई ६ करोड ७५ लाख राहत

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्ममा उक्त रकम निकासा गरेको हो। प्राधिकरणका अनुसार प्रभावित स्थानीय तहलाई आवश्यकता र क्षतिको अवस्थाका आधारमा रकम वितरण गरिनेछ।

प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा रहेको रकम निकासा गर्ने निर्णय गरेको थियो। अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित गरी स्थानीय तहलाई वर्गीकरण गरेर सोहीअनुसार अनुदान सहायता उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपालिका, नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र किस्पाङ गाउँपालिका, धादिङका बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेक गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई क्षतिको आधारमा अनुदान वितरण गरिनेछ।

बैठकले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उल्लेखित स्थानीय तहलाई विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको छ। सो बराबरको रकम अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा शोधभर्ना गर्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय