काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान गरिएको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित समितिले अध्ययन गरी सम्भावित पुनःस्थापना क्षेत्र सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको हो।
पुनःस्थापनाका लागि तीन जिल्लामा २७७ कित्ता जग्गा पहिचान गरिएको छ। पहिचान गरिएका जग्गामध्ये रसुवामा १७७, नुवाकोटमा ९४ र धादिङमा ६ कित्ता रहेका छन्।
बाढीका कारण घर तथा बसोबासको स्थान गुमाएका र अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने उद्देश्यले सम्भावित क्षेत्रको अध्ययन गरिएको हो। समितिले पहिचान गरेका जग्गाका आधारमा प्रभावित परिवारको पुनःस्थापना प्रक्रिया अघि बढाइनेछ।