प्रारम्भिक मतगणनामा रास्वपाको अग्रता, देशभर मतगणना जारी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते सम्पन्न मतदानपछि देशभरका विभिन्न निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको छ। प्रारम्भिक गणनामा अधिकांश स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको देखिएको छ। निर्वाचन आयोगका अनुसार रातिदेखि नै मतगणना सुरु भएको हो र सोमबारसम्म सबै परिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि देखिएको छ। दाङ–१, कञ्चनपुर–२, तनहुँ–१ तथा काठमाडौं–३ लगायतका क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले अग्रता लिएका छन्। चितवनका तीनवटै क्षेत्रमा पनि प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवार अघि रहेको बताइएको छ। यद्यपि केही स्थानमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच पनि प्रतिस्पर्धा देखिएको छ।

यसैबीच रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य अग्रस्थानमा छन्। डडेल्धुरामा मतगणनाको तयारी भइरहेको छ भने पर्सा र नुवाकोटमा मतगणना सुरु गर्न सर्वदलीय बैठकको तयारी भइरहेको छ। निर्वाचनमा प्रत्यक्षतर्फ ३,४०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। यस निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सांसद निर्वाचित हुनेछन्। प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकतर्फको मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

यो निर्वाचन प्रतिनिधिसभा विघटनपछि तय समयभन्दा अघि भएको हो। गत भदौमा भएको ‘जेन जी’ आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको थियो र त्यसपछि अन्तरिम सरकारले निर्वाचन गराएको हो।

प्रतिक्रिया