☰

विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपद्पछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडीबी)सँग आग्रह गरेका छन् ।

थाइल्यान्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा बिहीबार अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता भएको थियो ।

भेटमा अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण तथा नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनका लागि आवश्यक स्रोत परिचालनमा सहयोग गर्न अध्यक्ष कान्दालाई आग्रह गरेका हुन् ।

विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग पुर्‍याउन आपत्कालीन अनुदान छिटो स्वीकृत गरेकोमा अर्थमन्त्री वाग्लेले एडीबीप्रति नेपाल सरकारका तर्फबाट आभार व्यक्त गरे । उनले विपद्को कठिन परिस्थितिमा बैंकले देखाएको ऐक्यबद्धताको पनि प्रशंसा गरे ।

भेटका क्रममा एडीबी अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताए ।

छलफलमा अर्थमन्त्री वाग्लेसँगै भ्रमण दलमा सहभागी अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि उपस्थित थिए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय