काठमाडौँ । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ। मंगलबार राति भएको दुर्घटनामा डुंगामा सवार सात जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ।
स्थानीय बासिन्दा भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा दुर्घटनामा परेका हुन्। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको माता महारानी स्थाननजिक सिंहेश्वर रायको घरमा आयोजित भोजमा सहभागी हुन करिब २० जना सानो डुंगामा सवार भएका थिए।
वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार उद्धार गरिएका सात जनालाई उपचारका लागि नालन्दा मेडिकल कलेज तथा अस्पताल पठाइएको थियो। घाइतेमध्ये केहीलाई थप उपचारका लागि पटनासमेत रेफर गरिएको छ। डुंगामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको उनले बताइन्।
दुर्घटनापछि रातभर उद्धार कार्य सञ्चालन गरिएको थियो। उद्धारका लागि राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) र स्थानीय गोताखोर परिचालन गरिएको थियो। सोही क्रममा १३ जनाको शव फेला परेको जिल्ला अधिकारी सिंहले जानकारी दिइन्।
घटनाबारे जानकारी लिन स्थानीय अस्पताल पुगेकी जिल्ला अधिकारी सिंहविरुद्ध आक्रोशित स्थानीयले नाराबाजीसमेत गरेका थिए।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई राज्य सरकारका तर्फबाट प्रतिपरिवार चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन्। उनले उद्धार कार्य तीव्र बनाउन तथा घाइतेलाई गुणस्तरीय उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशनसमेत दिएका छन्।
यसैगरी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका प्रत्येक परिवारका निकटतम सदस्यलाई दुई लाख भारतीय रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्। दुर्घटनामा घाइते भएकालाई जनही ५० हजार भारतीय रुपैयाँ प्रदान गरिने उनले बताएका छन्।
मुख्यमन्त्री चौधरी र प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।