☰

बाढी प्रभावित ऋणीलाई साँवा र ब्याज तिर्न राष्ट्र बैंकले थप्यो तीन महिना

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोटेकोशी तथा बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ऋणीलाई कर्जाको साँवा र ब्याज भुक्तानी गर्न थप तीन महिनाको समय दिएको छ ।

राष्ट्र बैंकले मंगलबार राति विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रका व्यवसायीलाई कर्जा भुक्तानीमा सहुलियत दिने व्यवस्था गरेको हो । यसका लागि केन्द्रीय बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले संशोधन गरेको व्यवस्थाअनुसार बाढीबाट प्रत्यक्ष प्रभावित व्यवसाय, आयोजना तथा ऋणीको वित्तीय अवस्थाको विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाइ भएका ऋणीलाई थप समय दिन सकिनेछ ।

भोटेकोशी तथा बूढीगण्डकी बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका आयोजना वा व्यवसाय, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्धतयारी तथा तयारी मालवस्तुको आयात–निर्यातमा आधारित व्यवसाय र बाढी प्रभावित अन्य ऋणी यस व्यवस्थामा समेटिएका छन् ।

सम्बन्धित ऋणीको बिक्री तथा आम्दानी, नगद प्रवाह, जगेडा रकम, वित्तीय अवस्था, आयात–निर्यातमा परेको असर र कर्जाको उपयोगिताको यथार्थपरक विश्लेषण गरेर किस्ता भुक्तानी गर्न कठिनाइ भएको पुष्टि भएमा बैंक तथा वित्तीय संस्थाले सहुलियत दिन सक्नेछन् ।

राष्ट्र बैंकले संशोधन गरेको एकीकृत निर्देशनको बुँदा नम्बर ४८ अनुसार २०८२ असोज मसान्तमा भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजको किस्ता तिर्ने अवधि २०८३ पुस मसान्तसम्म थप गर्न सकिने व्यवस्था गरिएको छ ।

बाढीका कारण व्यवसाय सञ्चालन, आम्दानी र नगद प्रवाहमा असर परेका ऋणीलाई कर्जा भुक्तानीका लागि थप समय उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय