☰

भोटेकोशी बाढीको असरले मुद्रास्फीति ६.३४ प्रतिशत पुग्यो

भोटेकोशी बाढीको असरले मुद्रास्फीति ६.३४ प्रतिशत पुग्यो, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा वृद्धि

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावले नेपालमा मुद्रास्फीति थप बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार भदौमा वार्षिक उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ ।

गत साउनमा मुद्रास्फीति ५.९६ प्रतिशत रहेकोमा भदौमा ०.३८ प्रतिशत विन्दुले बढेको हो । गत आर्थिक वर्षको भदौमा भने मुद्रास्फीति १.८७ प्रतिशत मात्रै थियो । सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीतिलाई ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको भए पनि आर्थिक वर्षको सुरुवातदेखि नै मूल्यवृद्धि लक्ष्यभन्दा माथि रहेको छ ।

गत फागुनदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय द्वन्द्व, कच्चा तेलको मूल्यमा आएको उतारचढाव तथा हर्मुज जलडमरूमध्य क्षेत्रमा देखिएका समस्याले मूल्यवृद्धिको दबाब बढाउँदै आएको छ । त्यसमाथि भोटेकोशी क्षेत्रमा आएको बाढीले आपूर्ति व्यवस्थामा पारेको प्रभावले पनि मुद्रास्फीति बढाउन सहयोग पुगेको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताएका छन् ।

उनका अनुसार मूल्यवृद्धि भदौमा मात्रै एकाएक बढेको नभई अघिल्ला महिनादेखि नै बढ्दो क्रममा थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले मूल्यवृद्धिमा निरन्तर दबाब परिरहेको उनको भनाइ छ ।

असोजमा पनि मुद्रास्फीतिमा तत्काल सुधार आउने सम्भावना कम रहेको राष्ट्र बैंकले जनाएको छ । चाडपर्वका कारण बजारमा माग बढ्ने र असोजमा बुढीगण्डकी क्षेत्रमा आएको बाढीले समेत आपूर्ति व्यवस्थामा असर पार्न सक्ने भएकाले मूल्यवृद्धि नियन्त्रणमा चुनौती रहने देखिएको छ ।

उपभोक्ताकर्मी माधव तिमिल्सिनाले भने सरकारले मूल्यवृद्धि नियन्त्रणमा पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन् । दसैँको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा बाढीबाट प्रभावित नागरिक थप मारमा परेको भन्दै उनले सरकारले बजार अनुगमन र मूल्य नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

राष्ट्र बैंकका अनुसार भदौमा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । गत आर्थिक वर्षभर नेपालमा २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

दसैँ नजिकिएसँगै विदेशमा रहेका नेपालीले घरपरिवारका लागि रकम पठाउने क्रम बढ्ने गरेको छ । पहिलो दुई महिनामा भित्रिएको रेमिट्यान्स वस्तु आयातमा भएको खर्चभन्दा बढी छ । उक्त अवधिमा नेपालले ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

नेपालको विदेशी मुद्रा सञ्चिति पनि बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । भदौ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चितिको आकार २६ अर्ब ४८ करोड पुगेको छ । कुल सञ्चितिमध्ये राष्ट्र बैंकसँग ३६ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

विदेशी मुद्रा सञ्चितिले १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको प्रक्षेपण छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको सञ्चितिले २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।

शोधनान्तर बचत १ खर्ब ८७ अर्ब

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर बचत १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमा शोधनान्तर बचत गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्ब १० करोड रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर १ अर्ब २३ करोड पुगेको छ ।

त्यस्तै, समीक्षा अवधिमा चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता बचत १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँ थियो । यसले रेमिट्यान्स आप्रवाह र बाह्य क्षेत्रको अवस्थामा सुधार देखिए पनि आन्तरिक अर्थतन्त्रका चुनौती कायम रहेको संकेत गर्छ ।

पर्यटनबाट आम्दानी बढ्यो, भ्रमण खर्च घट्यो

पहिलो दुई महिनामा विदेशी पर्यटकबाट प्राप्त भ्रमण आय १४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब ६२ करोड रुपैयाँ थियो ।

यस अवधिमा भ्रमण व्यय भने १३.१ प्रतिशतले घटेर ४१ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ । भ्रमण व्ययमध्ये शिक्षासम्बन्धी खर्च २९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भ्रमण व्यय ४७ अर्ब ३१ करोड र शिक्षातर्फको खर्च ३२ अर्ब ७६ करोड रुपैयाँ थियो ।

पुँजीगत वस्तुको आयात हिस्सा घट्यो

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भएको कुल वस्तु आयातमा पुँजीगत वस्तुको हिस्सा ८.७ प्रतिशत मात्रै रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा ८.९ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार कुल आयातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ३९.४ प्रतिशत, मध्यवर्ती वस्तुको हिस्सा ५१.९ प्रतिशत र पुँजीगत वस्तुको हिस्सा ८.७ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यी वस्तुको आयात हिस्सा क्रमशः ३६.८ प्रतिशत, ५४.३ प्रतिशत र ८.९ प्रतिशत थियो । यसपटक उपभोग्य वस्तुको हिस्सा बढेको छ भने मध्यवर्ती तथा पुँजीगत वस्तुको हिस्सा घटेको छ । पुँजीगत वस्तुको आयात हिस्सा घट्नुले उत्पादन र लगानी विस्तारसँग सम्बन्धित आयातको अवस्था कमजोर रहेको संकेत गर्न सक्छ ।

सेवा खाताको घाटा घट्यो

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको सेवा खाता २२ अर्ब ४ करोड रुपैयाँले घाटामा रहेको छ । यद्यपि, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सेवा खाताको घाटा घटेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा सेवा खाता घाटा ३० अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।

रेमिट्यान्स आप्रवाह, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतमा सुधार देखिए पनि मुद्रास्फीति लक्ष्यभन्दा माथि रहनु र पुँजीगत वस्तुको आयात हिस्सा घट्नुले अर्थतन्त्रमा चुनौती कायम रहेको देखाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय