प्रहरीको गोली लागेर मृत्यु भएका चार जनालाई शहीद घोषणा

काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता र सिरहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिएका हुन्।

साउन ९ गते राति दुई समुदायबीच भएको झडपका क्रममा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सोही घटनामा घाइते भएका जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको थियो भने रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनावका क्रममा सिरहाको गोलबजारमा भएको प्रदर्शनमा गणेशकुमार यादवको मृत्यु भएको थियो।

सरकारले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिलगायतका विषयमा समेत सम्बोधन गर्ने जनाएको छ। यसअघि गृहमन्त्री सुधन गुरुङले मृतकका परिवारसँग राहत तथा क्षतिपूर्तिसहितका विषयमा सहमति गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय