बिहीबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भए पनि जलविद्युत समूहका सेयरमा भने आकर्षण देखिएको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ विन्दुमा झरेको हो। बजार घट्दा सेन्सेटिभ इन्डेक्समा १.५५ अंकको गिरावट आएको छ भने फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स भने सामान्य रूपमा बढेका छन्। समग्र बजार ओरालो लागे पनि कारोबार रकम भने बढेको देखिएको छ। यस दिन ३२० कम्पनीका सेयर १ लाख ३८ हजारभन्दा बढी पटक किनबेच हुँदा कुल कारोबार रकम १४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा उल्लेख्य वृद्धि हो।
बजारमा जलविद्युत कम्पनीहरूमा लगानीकर्ताको सक्रियता देखिँदा टप गेनर सूचीमा अधिकांश हाइड्रोपावर कम्पनी नै परेका छन्। हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलसम्म बढेको छ। साथै कालिका पावर, रावा इनर्जी, शुभम पावर, युनियन हाइड्रोपावर, नेसनल हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, बलेफी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर पनि उच्च बढ्ने कम्पनीमा परेका छन्। अर्कोतर्फ कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ भने सान्भि इनर्जी, दरमखोला हाइड्रोपावर र एसवाइ प्यानल नेपालका सेयर ९ प्रतिशतभन्दा बढीले घटेका छन्।
कुल कारोबार रकममध्ये जलविद्युत समूहको हिस्सा सबैभन्दा ठूलो रहेको छ। यस समूहको मात्रै करिब ८ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन कुल कारोबारको करिब ५८ प्रतिशत हो। कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रहँदा त्यसपछि एसवाइ प्यानल नेपाल र युनाइटेड मोदी हाइड्रोपावर परेका छन्। १३ उपसमूहमध्ये यस दिन केवल तीन उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूह घटेका छन्। जलविद्युत, लगानी र म्युचुअल फन्ड समूह सकारात्मक रहँदा विकास बैंक, उत्पादन तथा प्रशोधन, वित्त, होटल तथा पर्यटनजस्ता समूहमा उल्लेख्य गिरावट आएको छ।