वार्ता अगाडि बढेपछि इरानविरुद्धको अमेरिकी हमला रोकियो

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध तय गरिएको हवाई तथा बमबारी आक्रमण अन्तिम समयमा रद्द गरेको घोषणा गरेका छन्।

यसअघि ट्रम्पले इरानमाथि कडा सैन्य कारबाही गर्ने तथा उसको प्रमुख तेल निर्यात केन्द्र खर्ग टापु कब्जा गर्ने चेतावनी दिएका थिए। तर बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उनले प्रस्तावित आक्रमण स्थगित गरिएको जानकारी दिएका हुन्।

ट्रम्पले इरानको उच्च नेतृत्वसँगको वार्ता महत्वपूर्ण चरणमा पुगेको र विभिन्न पक्षबीच सहमति नजिक पुगेकाले आक्रमण रद्द गरिएको बताएका छन्। उनले वार्ताका अधिकांश विषयमा सहमति जुटिसकेको दाबी गरेका छन्।

यद्यपि इरानले भने कुनै अन्तिम सम्झौता भइनसकेको जनाएको छ। इरानी अधिकारीहरूले वार्ता जारी रहे पनि केही महत्वपूर्ण विषयमा अझै सहमति हुन बाँकी रहेको बताएका छन्।

यसैबीच ओमान नजिक भारतीय चालक दल रहेका जहाजहरूमाथि भएको आक्रमणलाई लिएर भारतले चासो व्यक्त गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतीय नागरिक सवार तेल ट्याङ्करहरू प्रभावित भएका छन् र चालक दलका सदस्यहरूको सुरक्षाबारे भारतले निगरानी बढाएको छ।

मध्यपूर्वमा जारी तनावका बीच अमेरिका र इरानबीचको वार्ताले नयाँ मोड लिएको भए पनि क्षेत्रीय सुरक्षा अवस्था अझै संवेदनशील रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया