देश र पार्टीविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरेका छन्। त्यस्तो षड्यन्त्र प्रतिक्रियावादी शक्तिहरूले गरिरहेको उनको भनाइ छ।

४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी स्थापनाकालदेखि नै षड्यन्त्र सुरु भएको र त्यो क्रम अहिले पनि जारी रहेको बताए। उनले प्रतिक्रियावादीहरूले विगतदेखि नै निरन्तर षड्यन्त्र गर्दै आएको उल्लेख गर्दै आफूहरू कसैको दया, माया वा कृपाले नभई संघर्षबाट यहाँसम्म आइपुगेको स्पष्ट पारे। संघर्ष गरेरै स्थापित भएको पार्टी भएकाले संघर्षकै बलमा टिकेको उनको भनाइ थियो।

अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिको षड्यन्त्र कहिल्यै सफल हुन नदिने जिकिर गर्दै नेकपा एमाले रहँदासम्म देशविरुद्ध र पार्टीविरुद्ध गरिने कुनै पनि प्रयास सफल नहुने दाबी गरे। उनले नेपाल कहिल्यै नहार्ने र हार्न नदिइने स्पष्ट पार्दै त्यसको आधार नेकपा एमाले रहेको बताए।

प्रतिक्रिया