ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एडिबीलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

काठमाडौंँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूला पूर्वाधार परियोजनामा लगानि बढाउन एशियाली विकास बैंकलाई आग्रह गर्नुभएको छ । शुक्रबार राजधानीमा एशियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा ढकालले उक्त कुरा व्यक्त गर्नुभएको हो ।  ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले निजी क्षेत्रसँगको सहकार्यमा निजी क्षेत्रद्वारा प्रवद्र्धित पूर्वाधार विकासका ठूलाठूला परियोजनामा एशियाली विकास बैंकलाई लगानीका लागि आग्रह गर्नुभएको हो । 


“मुलुकको विकासमा पूर्वाधारको महत्वपूर्ण भूमिका रहन्छ । यहाँहरुले यस्ता पूर्वाधारको क्षेत्रमा लगानी बढाउँदा पूर्वाधारको विकासमा सहयोग पुग्नुकासाथै मुलुकको समग्र विकासमा समेत ठूलो योगदान पुग्नसक्छ । निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूलाठूला पूर्वाधारका परियोजनामा लगानीको प्रसस्त सम्भावनाहरु छन् । श्रोतको अभावमा नेपालको निजी क्षेत्रले ठूलाठूला पर्यटन, जलविद्युत, सडक, होटललगायतका पूर्वाधारमा लगानी गर्न सकेको छैन । यस क्षेत्रमा एशियाली विकास बैंकले लगानी विस्तार गर्नुप¥यो,” ढकालले भन्नुभयो । ढकालले नेपालको बैंकिङ्ग क्षेत्र लगानीयोग्य पुँजीको अभावबाट गुज्रिरहेको बताउँदै यसको समाधानकालागि पनि एशियाली विकास बैंकको सहयोग आवश्यक रहेको बताउनुभयो ।


उक्त अवसरमा एशियाली विकास बैंकका उपाध्यक्ष लाभासले एशियाली विकास बैंक यसमा सकारात्मक रहेको बताउँदै नेपालको निजी क्षेत्रसँग सहकार्य गरी सम्भावना रहेका पूर्वाधारका परियोजनामा लगानीकालागि तयार रहेको बताउनुभयो ।  भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा एशियाली विकास बैंकका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया