संघीय संसदको प्रक्रियाअनुसार नयाँ प्रधानमन्त्री नियुक्ति चैत १३ पछि मात्रै हुने देखिएको छ। यसको मुख्य कारण नवनिर्वाचित सांसदहरूको शपथग्रहण प्रक्रिया अझै बाँकी रहनु हो।
निर्वाचन आयोगले चैत ५ गतेसम्म निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ। उक्त प्रतिवेदन प्राप्त भएपछि केही दिनभित्रै संघीय संसद् सचिवालयले सांसदहरूको शपथग्रहण कार्यक्रम तय गर्ने आन्तरिक तयारी गरेको जनाएको छ।
सचिवालयका अनुसार प्रतिवेदन बुझिएको पाँचदेखि छ दिनभित्र शपथग्रहण गराउने योजना रहेको छ। यदि आयोगले चैत ५ गते नै प्रतिवेदन बुझाएमा सोही दिन सूचना प्रकाशित गरी शपथको मिति निर्धारण गरिनेछ।
नियमअनुसार सबैभन्दा ज्येष्ठ सदस्यले पहिलो शपथ लिने व्यवस्था रहेको छ। ज्येष्ठ सदस्यले शपथ लिएपछि मात्र अन्य नवनिर्वाचित सांसदहरूको शपथग्रहण प्रक्रिया अघि बढ्नेछ। यही प्रक्रियाका कारण प्रधानमन्त्री नियुक्ति चैत १३ पछि मात्रै सम्भव हुने देखिएको हो।