देवानगञ्ज गोलीकाण्डमा सरकार–पीडितबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढ्ने

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र मृतकका परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएसँगै आन्दोलनका कार्यक्रम स्थगित भएका छन्।

सम्झौतापत्रमा गृहमन्त्री गुरुङका साथै मृतक ओमप्रकाश मेहताका अभिभावक कुशदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्। बिहीबार रातभर चलेको वार्तापछि शुक्रबार बिहान करिब ५ बजे सहमति जुटेको हो।

सहमतिअनुसार नेपाल सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ। साथै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ भने प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गरिनेछ।

त्यस्तै, साउन १० गते राति भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको छ। देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा पनि आवश्यक छानबिन तत्काल सुरु गरिने उल्लेख गरिएको छ।

छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिसलाई कानुनअनुसार कार्यान्वयन गर्ने तथा मृतकद्वयको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।

सम्झौतापछि अस्पतालमा रहेका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्ने भएका छन्। दुवैको अन्त्येष्टि शुक्रबार दिउँसो २ बजे गरिने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय