काठमाडौं —स्कटल्याण्डमा जारी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले बलियो टिम नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।
ब्याटिङका लागि कठिन रहेको पिचमा २२६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले प्रेरणादायी इनिङ खेले। उनले ७८ रन बनाउने क्रममा २ छक्का र ७ चौका प्रहार गरे। आरिफलाई दीपेन्द्रसिंह ऐरीले सशक्त साथ दिँदै ३८ रन बनाए। दुवैबीच भएको ८९ रनको साझेदारी नै नेपालको जितको आधार बन्यो।
ओपनर जोडी आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरे। आसिफले २२ तथा कुशलले २५ रन बनाए। त्यसपछि भीम सार्कीले ११ र कप्तान रोहित पौडेलले २३ रन जोडे। रोहित दुर्भाग्यपूर्ण रूपमा रनआउट भएपछि नेपाल केही दबाबमा परेको थियो। तर आरिफ र दीपेन्द्रको संयमित ब्याटिङले टोलीलाई फेरि लयमा ल्यायो।
खेलको अन्त्यतिर गुल्शन झाले छक्का प्रहार गर्दै ४७.१ ओभरमै नेपाललाई जित दिलाए।
यस जितसँगै नेपालले श्रृंखलामा आफ्नो बलियो उपस्थिति जनाउन सफल भएको छ।