काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उपचारका क्रममा मंगलबार ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उनको निधन भएको हो।
श्रेष्ठ केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए। विगत एक वर्षदेखि उनी नेपाल र भारतका विभिन्न अस्पतालमा उपचाररत रहेका थिए।
कांग्रेसले उनको निधनबारे केही समयमै औपचारिक विज्ञप्ति जारी गर्ने जनाएको छ। पार्टीका अनुसार श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।
पार्टीमा उनले पुर्याएको योगदानको सम्मानस्वरूप नेपाली कांग्रेसले हालै उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो। उनी गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागी भएका थिए।
स्याङ्जाबाट पटक–पटक प्रतिनिधित्व गरेका श्रेष्ठ भौतिक योजना, वन, उद्योग तथा शिक्षामन्त्रीजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका थिए। प्रजातान्त्रिक आन्दोलनका क्रममा उनी विभिन्न समयमा गरी करिब पाँच वर्ष जेल जीवन पनि बिताएका थिए। साथै, उनले नेपाली कांग्रेस (प्रजातान्त्रिक) को कार्यवाहक सभापतिका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए।