दुई कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाए


काठमाडौं– नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति पाएका छन् ।
बोर्डले सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर बिक्री गर्न अनुमति दिएको हो ।
सानिमा लाइफ इन्स्योरेन्सले २०७८ जेठ ९ गते र मानुषी लघुवित्तले २०७८ बैशाख १३ गते बार्डसँग शेयर बिक्रीका लागि अनुमति माग गरेका थिए ।
सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने ६० लाख कित्ता शेयरमध्ये कर्मचारीहरु र सामूहिक लगानी कोषका लागि समान ५ प्रतिशतले हुन आउने ३।३ लाख गरी ६ लाख कित्ता छुट्टाएर बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्नेछ ।
सानिमा लाईफ इन्स्योरेन्सको आइपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल र मानुषी लघुवित्त वित्तीय संस्थाको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार सानिमा लाईफको आइपीओले मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।
यस्तै केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मानुषी लघुवित्तको आईपीओलाई कम्पनीले केयर एनपी बि प्लस रेटिङ दिएको छ । कम्पनीले दिएको सिङ्गल बिप्स रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा नगरेका खण्डमा उच्च जोखिमको संकेत गर्दछ 
संस्थाको वित्तीय सुधार मध्यम किसिमको रहेको रेटिङ एजेन्सीले जनाएको छ । संस्थाको १० प्रतिशत कारोबार होलसेल तथा रिटेल व्यवसायीमा रहेको छ । त्यस्तै ४३ प्रतिशत कृषि क्षेत्रमा रहेको संस्थाले जनाएको छ ।
प्राथमिक शेयर निष्काशन पछि संस्थापक तर्फको शेयर पूँजी ६४ प्रतिशत र सर्वसाधारण समुहको ३६ प्रतिशत हुने छ । सन् २०१८ मा नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको यस संस्थाको हालको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । काभ्रेको भैसेपाटीमा केन्द्रिय कार्यालय रहेको मानुषीको कार्यक्षेत्र राष्ट्रिय स्तरमै रहेको छ । सर्वसाधारणका लागि तीन करोड ९३ लाख रुपैयाँको प्राथमिक शेयर जारी पछि चुक्ता पूँजी १० करोड ९३ लाख रुपैयाँ पुग्ने छ । लघुवित्त संस्थाको हाल २६ वटा शाखा कार्यालय रहेको छ ।
 

प्रतिक्रिया