सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेन् साहले जनाए आपती

काठमाडौं - काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र पदका उम्मेदवार बालेन साहले मतगणना प्रक्रियामा आपत्ति जनाएका छन् । 

मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि राख्ने कुरामा साहले आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, 'मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ। 

उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन । हरेकलाई हरेकसँग प्रतिस्पर्धी मानिएको छ । हरेकले पाउने प्रत्येक मतको 'मतभार' बराबर छ । यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ ?  स्वतन्त्रहरू आफैमा फरक फरक विचार, समूह र उम्मेदवार हुन् । उनीहरू आफै बिचमा प्रतिस्पर्धा हुन्छ । यस्तोमा पाँच जना स्वतन्त्र भनेर के आधारमा एकै डालोमा राखिएको हो ?

कुन कुन विचारधारा वा सम्बन्धले पाँच जना स्वतन्त्र उम्मेदवारले एकजना मात्रै प्रतिनिधि छान्ने हो ? पाँचजनाले एकजना मात्रै प्रतिनिधिको छनौट गर्ने प्रक्रिया र विधि के हो ? आयोगले सो किसिमको चुनावका लागि बनाएको कार्यविधि कहाँ छ ? पक्कै पनि यसको लोकतान्त्रिक जवाफ छैन ।

यसैले, सामान्य प्राविधिक कुराहरूमा सम्झौता नगर्न लोकतन्त्रसँग र आफ्नो प्रतिनिधि राख्न पाउने उम्मेदवारको अधिकारसँग खेलबाड नगरियोस् । ५ जना स्वतन्त्रको एकजना साझा प्रतिनिधि भन्ने कुरा कानुनी, व्यवहारिक र लोकतन्त्रको कसीमा हदैसम्मको अन्यायपूर्ण छ र यो लोकतन्त्रको विरुद्धमा छ । यसले विवादको सिर्जना गरेर मतगणना नै शान्तिपूर्ण हुँदैन कि भन्ने शंका उत्पन्न गराउँछ ।

यसप्रति निर्वाचन आयोग सजग बनोस् । र, हरेक स्वतन्त्र उम्मेदवारलाई पनि आफ्नो प्रतिनिधि मतगणनामा सामेल गर्न दिओस् ।

यसमा निर्वाचन आयोगको ध्यानाकर्षण र तत्काल कार्यान्वयनका लागि अपिल गर्दछु  ।'

प्रतिक्रिया