नेपाल राष्ट्र बैंकले १५ वटा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारवाही गर्दै सचेत गराएको छ। आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा भएका त्रुटिहरूका आधारमा राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले विकास बैंक र फाइनान्स कम्पनीका सीईओहरूमाथि यो कदम चालेको हो।
विकास बैंकतर्फ लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तीनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक, र सप्तकोशी डेभलपमेण्ट बैंकका सीईओलाई सचेत गराइएको छ। पुनरकर्जा, व्यवसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको दुरुपयोग गरिएको वा आशंका गरिएको भन्दै राष्ट्र बैंकले परामर्शदाताबाट प्राप्त प्रतिवेदन र आन्तरिक लेखा परीक्षण प्रतिवेदनका आधारमा कारवाही गरेको हो। सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र निर्देशन उल्लंघन भएको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) अनुसार सचेत गराइएको छ।
त्यस्तै, आठवटा फाइनान्स कम्पनीका सीईओलाई पनि कारवाही गरिएको छ। कारवाहीमा पर्ने फाइनान्स कम्पनीहरूमा समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, र गुडविल फाइनान्स छन्। यी कम्पनीहरूले पनि सहुलियतपूर्ण कर्जाको दुरुपयोग वा दुरुपयोगको आशंका गरिएको कर्जा प्रवाह गरेको भन्दै राष्ट्र बैंकले सोही कानुनको दफाअन्तर्गत सचेत गराएको हो।