किन आन्दोलनमा उत्रिए शेयर लगानीकर्ता ? तीन दिनदेखि रिले अनसन


काठमाण्डौं–सेयर धितो कर्जाको सीमाको विषयलार्य  लिएर सेयर लगानीकर्ता आन्तोलित भएका छन् । लगानीकर्ताले गत बुधबारबाट माइतीघर मण्डलामा रिले अनसन जारी राखेका छन् ।  रामकृष्ण ढकालको संयोजकत्वमा गठित पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले रिले अनसन सुरु गरेका थिए । रिले अनसन भदौ २९ गतेसम्म जारी राख्ने लगानीकर्ताहरुको भनाइ छ । 


आफूहरुले नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाएपछि पनि माग सम्बोधन नभएको रिले अनसन जारी राख्न बाध्य भएको संयोजक ढकालले बताए । ‘हाम्रा माग पूरा नभए भदौ ३० गतेबाट आमरण अनसनसहित कडा आन्दोलन सुरु गर्न बाध्य हुने छौँ’, उनले भने ।  गत सोमबार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले राष्ट्र बैंक घेराउ गर्दै प्रवक्ता देवकुमार ढकाललाई १८ बुँदे ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै प्रवक्ता ढकालले गभर्नर बजारप्रति सकारात्मक भएकाले बजार सुधारका लागि उचित कदम चलाइने आश्वासनसमेत दिएका थिए ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सेयर प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सीमा लगाएको व्यवस्था तुरुन्त खारेज गर्न माग गर्दै १८ बुँदे ज्ञापनपत्र समेत बुझाएको छ ।

उनीहरुले गभर्नर महाप्रसाद अधिकारीको राजिनामा समेत माग गरेका छन् । राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको थियो। मौद्रिक नीतिमा यो व्यवस्था गरेसँगै सेयर बजार लगातार ओरालो यात्रा तय गरिरहेको हो ।

राष्ट्र बैंक घेराउपछि संघर्ष समितिका संयोजक ढकालले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई १८ बुँदे ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै प्रवक्ता ढकालले सेयर धितो कर्जा सीमा केहि परिमार्जन गरिने बताएका छन्।

प्रतिक्रिया