काठमाडौं – भटमास र सूर्यमुखी तेलको निर्यातमा तीव्र वृद्धिसँगै नेपालले गत आर्थिक वर्षमा हालसम्मकै उच्च निर्यात व्यापार गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार २०८१/८२ मा देशले २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८१.८० प्रतिशतले बढी हो।
निर्यातमा यति ठूलो वृद्धि हुनुको मुख्य कारण भने खाने तेल, विशेषतः भटमास र सूर्यमुखीको तेलको निर्यात हो। एक वर्षमा मात्रै १ खर्ब ६ अर्ब ९९ करोड रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ, जुन अघिल्लो वर्षको ९० करोडको तुलनामा झन्डै १०० गुणा बढी हो। सूर्यमुखीको तेल निर्यात पनि १६ करोडबाट १२ अर्ब ३२ करोडमा पुगेको छ।
तर, यो वृद्धिको पछाडि स्वदेशी उत्पादनभन्दा बढी तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर भारततर्फ पुनः निर्यात गर्ने रणनीति देखिएको छ। कच्चा तेलको आयात अघिल्लो वर्षको ४१ अर्बबाट बढेर १ खर्ब ४४ अर्ब नाघेको छ।
व्यापार विज्ञ रवि सैंजुका अनुसार, यो मोडेल दीर्घकालीन रूपमा लाभदायी भने होइन। ‘नेपालले भारतसँगको व्यापार सन्धिअनुसार न्यून शुल्कमा पुनः निर्यात गर्ने सुविधा पाएको छ, तर स्वदेशी उत्पादन नभएसम्म निर्यातको दिगोपन निश्चित छैन,’ उनले स्पष्ट पारे।
कुल निर्यातको झण्डै ४४ प्रतिशत हिस्सा खाने तेलमा मात्रै रहेको छ। अन्य प्रमुख निर्यात वस्तुमा सेन्थेटिक यार्न (१४ अर्ब ३६ करोड), ऊनी गलैंचा (१० अर्ब ७७ करोड), फलामे पाता (९ अर्ब ५९ करोड), तयारी कपडा (८ अर्ब १७ करोड), र फलफूलको जुस (७ अर्ब ७१ करोड) रहेका छन्।
नेपालले निर्यात गर्ने वस्तुमध्ये ८२ प्रतिशत भारतमै जान्छन्। यद्यपि, भारतीय बजारको मागबारे अध्ययन नहुँदा चिया, अलैंचीजस्ता परम्परागत वस्तु ब्रान्डिङ गर्न नसकिएको विज्ञहरुको ठम्याइ छ।
यसबीच, २०८१/८२ मा मुलुकले १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ, जसमा प्रमुख वस्तु पेट्रोलियम पदार्थ हुन्। डिजेल, पेट्रोल र एलपी ग्यास गरी २ खर्ब ५५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ।
व्यापार घाटा पनि ६ प्रतिशतले बढेर १५ खर्ब २७ अर्ब पुगेको छ। अघिल्लो वर्ष यो घाटा १४ खर्ब ४० अर्ब थियो।