काठमाडौं । नेपाली गीत–संगीत क्षेत्रमा नयाँ प्रेमिल गीत ‘कास्की साराङ्कोट’ सार्वजनिक भएको छ। माया–प्रेमको भावलाई आकर्षक ढंगले प्रस्तुत गरिएको गीतले छोटो समयमै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ।
गीतमा चर्चित गायक दीपक रसाइली र लोकप्रिय गायिका शान्ति श्री परियारको सुमधुर स्वर रहेको छ। गीतका शब्द तथा लय मुनाल शिशिर कोइरालाले सिर्जना गरेका हुन् भने म्युजिक भिडियोको निर्देशन पनि कोइरालाले नै गरेका छन्।
भिडियोमा कलाकार सुधिर श्रेष्ठ, प्रितिका शर्मा, गौरव हमाल र तुलसी कँडेलको आकर्षक अभिनय देख्न सकिन्छ। कलाकारहरूले प्रेम, भावना र सम्बन्धका विभिन्न पक्षलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।
प्राविधिक तथा दृश्यात्मक रूपमा समेत उत्कृष्ट बनेको भिडियोले दर्शकको मन जितिरहेको छ। गीतको शब्द, संगीत, गायन र अभिनयको संयोजनलाई सामाजिक सञ्जालमा प्रशंसा गरिएको छ।
सार्वजनिक भएको छोटो समयमै ‘कास्की साराङ्कोट’ले युट्युब तथा अन्य सामाजिक सञ्जालमा उल्लेखनीय प्रतिक्रिया पाइरहेको छ। प्रेमभावलाई सरल, मिठासपूर्ण र सन्देशमूलक ढंगले प्रस्तुत गरिएकाले गीतले आगामी दिनमा अझ व्यापक लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।