मुग्लिन–नारायणगढ सडकमा आज रातभर सवारी सञ्चालन रोक

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा आइतबार साँझ ६ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। लगातारको वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रहरी कार्यालय चितवनले रातभर यातायात सञ्चालनमा रोक लगाउने सूचना जारी गरेको हो।

प्रहरीका अनुसार साँझ ६ बजेअघि सडक पार गर्ने सवारीसाधनलाई गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाइनेछ। तर सो समयपछि आउने सवारीसाधनलाई होल्डिङ सेन्टरमा रोक्ने व्यवस्था गरिएको छ।

मौसम पूर्वानुमान र सम्भावित पहिरो जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सडक सञ्चालनमा कडाइ गरिएको प्रहरीले जनाएको छ। विशेष गरी तुइन खोलाको आसपासको क्षेत्रमा अझै पनि पहिरोको उच्च जोखिम कायम रहेकोले सावधानी स्वरूप सवारी सञ्चालन रोकिएको हो।

यसअघि शनिबार पनि साँझ ६ बजेदेखि रातभर सो सडकखण्डमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय