काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७६३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंक (नेरा) का अनुसार, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो।
नेरा द्वारा प्रकाशित प्रतिवेदन अनुसार, २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा २३१६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड डलर रहेकोमा २०८१ पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड डलर पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई २०७२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेरा बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ पुस मसान्तमा २७ प्रतिशतले वृद्धि भई २४४ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ।
पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ। सञ्चिति पर्याप्तता सूचक आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेराले जनाएको छ।
२०८१ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल ग्राहस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ४०.६ प्रतिशत, १२०.३ प्रतिशत र ३२.० प्रतिशत छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थिए।