काठमाडौं । बझाङ जिल्लाको केदारस्यु गाउँपालिका–७ स्थित सुगरे क्षेत्रमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका–७ की बिमला महत धामी तथा दुर्गाथली गाउँपालिका–६ की कुटुरीदेवी महतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का पूर्ववडासदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जौमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा केदारस्यु गाउँपालिका–७ का जिप चालक देवबहादुर धामी गम्भीर घाइते भएका छन्।
यस्तै, दुर्गाथली गाउँपालिका–६ का धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र बिरु जाग्री सामान्य घाइते भएका छन्।
घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि आवश्यकतानुसार थप उपचारका लागि अन्य अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।