काठमाडौं — सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। अर्थ मन्त्रालय ले बजेट लेखन समिति गठन गर्दै आगामी वर्षको बजेट तयारी सुरु गरेको हो।
राजश्व व्यवस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा गठित समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल सदस्यका रूपमा रहेका छन्।
यो समितिले आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्ने, बजेटका सिद्धान्त तथा प्राथमिकता निर्धारण गर्ने र वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने मुख्य जिम्मेवारी पाएको छ। साथै, कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने कार्य पनि समितिले गर्नेछ।
संघीय संसद्का दुवै सदनमा पेश गरिने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने तथा अर्थमन्त्रीले संसद्मा प्रस्तुत गर्ने बजेट वक्तव्यको अन्तिम रूप दिने जिम्मेवारी पनि यही समितिलाई तोकिएको छ।