चीनसँगका दुई बन्द नाका आजबाट खुला

काठमाडौं–कोभिडको कारण रोकिएका चीनसँगका नाका आजबाट खुलेका छन् । कोभिडको बहाना देखाएर एकतर्फी रूपमा सीमा नाका बन्द गरेको चीनले ‘ट्रान्जिट’ मा रोकिएका मालवाहक कन्टेनरलाई आजबाट पठाउन सुरु गरेको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सुलाई राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि चीनले नाका खुलाएको हाहे ।


चीनले गत महिनादेखि तातोपानी र रसुवागढी नाका बन्द गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको भेटमा चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले बिहीबारदेखि नै सीमा नाका खोल्ने बताएका थिए । नाका बन्द गर्दा अन्तर्राष्ट्रिय रूपमा गलत सन्देश गएकाले चीनले नेपाल आउन मालसामान बोकेर हिँडेका तर चिनियाँ भूमिमै रोकिएका कन्टेनर छाड्न नाका खोल्न लागेको हो ।


ट्रान्जिटमा रोकिएका सामान मात्र पठाउनेगरी चीनले बिहीबारदेखि नाका खोल्न लागेको जानकारी अनौपचारिक रूपमा भन्सारका अधिकारीलाई आएको छ ।  चीनले दुई मुलुकबीचका प्रमुख व्यापारिक नाका तातोपानी–खासा र रसुवागढी–केरुङ बन्द गर्दा नेपाली व्यवसायी ठुलो मर्कामा परेका छन् । अन्तर्राष्ट्रिय कानुनअनुसार भूपेरिवेष्टित मुलुकलाई पारवहन सुविधामा अवरोध गर्न नपाइने भए पनि चीनले विभिन्न बहाना बनाएर बन्द गर्दै आएको छ ।  


भूपेरिवेष्टित मुलुक नेपाललाई पारवहन सुविधा दिन सहमत भएको चीनले पटकपटक व्यापारिक नाका बन्द गर्दै आएको छ। सन् २०१६ मा नेपाल र चीनबीच पारवहन सम्झौता समेत भएको थियो । नेपालले चिनियाँ सडक मार्ग हुँदै समुद्रसम्मको पहुँच सुविधा पाए पनि यसलाई पूर्ण उपयोग गर्न पाएको छैन । सीमा नाका खुला गर्दा ‘फ्री तिब्बत’ गतिविधि बढ्न सक्ने बुझाइका कारण चीनले विभिन्न बहाना बनाएर नाकामा कडाइ गर्दै आएको हो। 

प्रतिक्रिया