काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा मौसम बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसमविद्का अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसुन फैलिएको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहेको छ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ भने तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
आज राति पनि देशभर पूर्णतया बदली रहने अनुमान छ। हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपात, पहाडी क्षेत्रका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।