एकै पटक ३ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब ८० लाख अधिक कित्ता सेयर थपिएको छ। मगंलबार दुई लघुवित्त र एक विकास बैंकको सेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको छ। 

नेप्सेले मगंलबार ईन्फिनिटी लघुवित्त, सूर्योदय लघुवित्त र महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत गरेको हो।

यी संस्थाहरुको कुल ८० लाख ७९ हजार ९८९.४२७३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। उक्त बोनस सेयर गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण भएको हो। 

आर्थिक वर्ष २०७७/७८ का लागि ईन्फिनिटी लघुवित्तले कायम चुक्ता पुँजीको २७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

सूर्योदय लघुवित्तले पनि गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर लाभांश स्वरुप वितरण गरेको हो। यस्तै, महालक्ष्मी विकास बैंकले पनि गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

नेप्सेमा ईन्फिनिटी लघुवित्तको अहिले बोनस सेयर बापतको ८ लाख ९९ हजार ९८.१२७३ कित्ता थप हुँदा सूर्योदय लघुवित्तको ४ लाख ९६ हजार ८५.८५ कित्ता सेयर सूचीकृत भएको छ। यसै गरी, महालक्ष्मी विकास बैंकको बोनस सेयर बापत ६६ लाख ८४ हजार ८०५.४५ कित्ता सेयर सूचीकृत भएको छ।  

मगंलबार सूचीकृत भएका यी सेयरहरुको दोस्रो बजारमा कारोबार भने सेयरधनीहरुको डिम्याट खातामा आएपछि मात्र गर्न सकिनेछ। 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय