हुम्लामा हिमताल फुट्दा तिलगाउँ उच्च जोखिममा, बासिन्दा त्रिपालमा आश्रय

जुम्ला — हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित थाक्रामा रहेको दुईवटा हिमताल फुटेपछि बाढीले तिलगाउँ उच्च जोखिममा परेको छ। वडाध्यक्ष पाल्जोर तामाङका अनुसार हिमताल फुटेपछि लेदो र पहिरो सहितको बहाव गाउँको नजिकै आइपुगेको छ, जसले स्थानियवासीमा त्रास फैलिएको छ। 'अहिले पनि लेदो बगिरहेको छ र जोखिम कायमै छ,' वडाध्यक्ष तामाङले बताए।

उनका अनुसार हिमताल जेठ १ गते नै फुटेको भए पनि सुरुमा स्पष्ट जानकारी नहुँदा अन्योल भएको थियो। घटनापछि ९ घण्टाको पैदल यात्रापछि थाक्रामा पुगेको टोलीले दुईवटा हिमताल फुटेको पुष्टि गरेको हो।

आइतबार पाँचजनाको स्थानीय टोली घटनास्थल पुगेर अवलोकन गरेको छ। वडाध्यक्ष तामाङले उनीहरुले हिमताल फाटेको पुष्टि गरेपछि त्यसबाट आएको लेदो बाढी गाउँतर्फ बगिरहेको थाहा भएको जानकारी दिए। हाल तिलगाउँका १९ घरधुरीका ३३ जना बासिन्दा त्रिपालमा बसिरहेका छन्। उनीहरू गाउँभन्दा टाढाको सुरक्षित स्थानमा आश्रय लिएका छन्।

घटनाको अनुसन्धान गर्न गएको सुरक्षाकर्मीको टोली भने बाटैबाट फर्किनुपरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए। ‘उच्च भौगोलिक क्षेत्र र स्वास्थ्य जोखिमका कारण टोली फर्किएको हो,’ उनले भने। अहिले स्थानीय टोलीको प्रत्यक्ष अवलोकनको आधारमा आगामी रणनीति बनाइने जनाइएको छ।

प्रतिक्रिया