समसामयिक राजनीतिक विषयमा रास्वपाले बोलायो सर्वदलीय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको समसामयिक राजनीतिक अवस्था, संसद्को प्रभावकारिता तथा राष्ट्रिय महत्वका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ।

रास्वपाका सभापति रवि लामिछानेको पहलमा सोमबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको हो। मुलुकका महत्वपूर्ण राजनीतिक एजेन्डामा साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक आयोजना गर्न लागिएको पार्टीले जनाएको छ।

सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा आयोजना हुने उक्त बैठकमा सङ्घीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सहभागी हुन आग्रह गरिएको छ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार छलफललाई प्रभावकारी र परिणाममुखी बनाउन प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, संसद्को भूमिकालाई प्रभावकारी बनाउने उपाय तथा राष्ट्रिय चासोका विविध विषयमा खुला छलफल हुने जनाइएको छ।

रास्वपाले राजनीतिक दलहरूबीच संवाद र सहकार्य बढेमा वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न तथा राष्ट्रिय मुद्दामा सहमति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया