काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानमै रहेको छ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने बागमती र गण्डकीका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिमका तराईका थोरै स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस प्रदेश, कर्णालीका पहाडी क्षेत्र तथा सुदूरपश्चिमका पहाडी र तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने जनाएको छ। यसका साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागका पछिल्ला मौसम सूचनाहरू नियमित रूपमा पालना गर्न आग्रह गरिएको छ।