दृष्टिदोष विरुद्ध दृष्टिको साताव्यापी चेतना अभियान सुरु

काठमाडौं — विश्वभर तीव्र गतिमा बढिरहेको मायोपिया (नजिक देख्ने दृष्टिदोष) प्रति आम नागरिकलाई सचेत गराउने उद्देश्यले दृष्टि आई केयर सिस्टमले जेठ ५ गतेदेखि ११ गतेसम्म मायोपिया जनचेतना सप्ताह आयोजना गरेको छ।

सप्ताहव्यापी अभियान अन्तर्गत काठमाडौं, वीरगञ्ज र विर्तामोडका शाखाहरुबाट विविध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छन्। अभियानको मुख्य आकर्षणस्वरूप जेठ १० गते शनिबार बिहान ७ बजे एकैसाथ तीनै सहरमा मायोपिया जनचेतना ¥याली आयोजना गरिने दृष्टिले जनाएको छ।

¥यालीमा आँखा स्वास्थ्यसँग सम्बन्धित संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय, स्वास्थ्यकर्मी, विद्यार्थी तथा स्थानीय समुदायको सहभागिता रहनेछ।

कार्यक्रम अन्तर्गत विभिन्न सामुदायिक विद्यालयहरूमा स्कूल स्क्रिनिङ शिविर सञ्चालन गरिनेछ। शिविरमा परीक्षण गरिएका विद्यार्थीहरूले दृष्टिका कुनै पनि शाखामा गएर निःशुल्क विस्तृत परीक्षण सेवा लिन सक्नेछन्।

१७ वर्षसम्मका सबै विद्यार्थीले अग्रिम नाम दर्ता गरेर निःशुल्क आँखाको परीक्षण गराउन पाउने छन्। साथै, चस्मा र मायोपिया नियन्त्रणका विशेष लेन्सहरूमा पनि छुट दिइने दृष्टिले जानकारी दिएको छ।

विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार सन् २०५० सम्ममा विश्वको आधा जनसंख्या मायोपियाबाट प्रभावित हुने खतरा रहेको हुँदा समयमै परीक्षण र रोकथाम आवश्यक भएको दृष्टिका कार्यकारी निर्देशक डा. भाईराजा श्रेष्ठले बताए।

उनका अनुसार दृष्टिको वेबसाइटमा रहेको मायोपिया क्याल्कुलेटरको प्रयोग गरी सबैले आफैंले वा आफ्ना बालबालिकाको मायोपिया जोखिम स्तर थाहा पाउन सक्नेछन्।

मायोपिया विशेषज्ञ दीपक घिमिरेका अनुसार, “मायोपिया अब सामान्य दृष्टिदोष मात्र नभई दीर्घकालीन दृष्टि गुमाउने प्रमुख कारण बन्दै गएको छ, त्यसैले यसप्रति सचेतना अत्यावश्यक छ।” अभियानसम्बन्धी थप जानकारीको लागि काठमाडौं, वीरगञ्ज र विर्तामोडका दृष्टि आई केयर शाखाहरू वा वेबसाइटमा सम्पर्क गर्न सकिने दृष्टिले जनाएको छ।

 

प्रतिक्रिया