उरुग्वेलाई काबो भेर्डेको झट्का, बेल्जियम पनि इरानसँग रोकियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार सम्पन्न समूह चरणका खेलमा केही अप्रत्याशित नतिजा देखिएका छन्। समूह ‘एच’ मा काबो भेर्डेले पूर्व विश्वविजेता उरुग्वेलाई २–२ को बराबरीमा रोक्दा समूह ‘जी’ मा बेल्जियम र इरानले गोलरहित बराबरी खेलेका छन्।

क्यालिफोर्नियाको लस एन्जलस स्टेडियममा भएको खेलमा बेल्जियम र इरानले ०–० को बराबरी खेल्दै अंक बाँडे। दुवै टोलीको प्रतियोगितामा यो लगातार दोस्रो बराबरी हो।

खेलमा बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुवा र इरानका गोलरक्षक अलिरेजा बेइरानभान्डले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई गोल खानबाट जोगाए। कोर्टुवाले मेहदी तारेमीसहित इरानी खेलाडीका केही खतरनाक प्रहार विफल पारेका थिए।

इरानका तारेमीले २५औँ मिनेटमा गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर) ले अफसाइड ठहर गरेपछि गोल मान्यता पाएन। खेलको ६६औँ मिनेटमा बेल्जियमका डिफेन्डर नाथान न्गोयले तारेमीलाई फाउल गरेपछि सिधै रातो कार्ड पाए। त्यसपछि १० खेलाडीमा सीमित बनेको बेल्जियमले पनि इरानलाई गोल गर्न दिएन।

यता, फ्लोरिडाको मायामी स्टेडियममा भएको समूह ‘एच’ को खेलमा काबो भेर्डेले उरुग्वेसँग २–२ को रोमाञ्चक बराबरी खेल्दै अर्को प्रभावशाली नतिजा निकालेको छ।

खेलको २१औँ मिनेटमा केभिन पिनाले करिब ३४ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएपछि काबो भेर्डेले अग्रता लिएको थियो।

तर पहिलो हाफको अन्त्यतिर उरुग्वे खेलमा फर्कियो। ४४औँ मिनेटमा माक्सी अराउजोले हेडमार्फत बराबरी गोल गरे भने इन्जुरी समयमा आगुस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए।

दोस्रो हाफको ६१औँ मिनेटमा उरुग्वेका डिफेन्डर माथियास ओलिभेराको गल्तीको फाइदा उठाउँदै हेलियो वारेलाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो। त्यसपछि थप गोल हुन नसक्दा दुवै टोलीले एक–एक अंकमा चित्त बुझाए।

यो खेलले अर्को रोचक कीर्तिमान पनि बनायो। उरुग्वेका फर्नान्डो मुस्लेरा र काबो भेर्डेका बोजिन्हा दुवै ४० वर्षभन्दा माथिका गोलरक्षक हुन्। विश्वकप इतिहासमा दुवै टोलीका ४० वर्ष नाघेका गोलरक्षकले एकै खेलमा सुरुआती ११ मा स्थान बनाएको यो पहिलो अवसर हो।

दुई खेलपछि समूह ‘जी’ मा बेल्जियम र इरानको समान २ अंक रहेको छ भने दुवै टोली अझै पहिलो जितको खोजीमा छन्।

समूह ‘एच’ मा स्पेन ४ अंकसहित शीर्ष स्थानमा रहँदा उरुग्वे र काबो भेर्डेको समान २–२ अंक छ। यस समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो अब अन्तिम खेलले लगाउनेछ।

प्रतिक्रिया