ब्राजिल समूह विजेता बन्दै नकआउटमा, मोरक्को पनि अन्तिम ३२ मा

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ का अन्तिम तथा निर्णायक खेलहरूमा पाँच पटकको विश्व विजेता ब्राजिल र अफ्रिकी शक्ति मोरक्को विजयी हुँदै नकआउट चरणमा प्रवेश गरेका छन्। ब्राजिल समूह विजेता बन्दा मोरक्को उपविजेताका रूपमा अन्तिम ३२ मा पुगेको हो।

अमेरिकाको मियामी स्टेडियममा सम्पन्न खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० ले पराजित गर्दै आफ्नो दबदबा कायम राख्यो। स्टार विङ्गर भिनिसियस जुनियरको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले सहज जित हात पारेको हो।

खेलको सातौँ मिनेटमै १९ वर्षीय युवा फरवार्ड रायनको पासमा भिनिसियसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा ब्रुनो गुइमारेसको पासलाई सदुपयोग गर्दै भिनिसियसले व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिल २–० ले अघि बढ्यो।

दोस्रो हाफको ६०औँ मिनेटमा गुइमारेसकै उत्कृष्ट क्रसमा माथेउस कुन्हाले गोल थप्दै ब्राजिलको जित सुनिश्चित गरे। यस जितसँगै ब्राजिलले समूह चरणको यात्रा प्रभावशाली रूपमा टुङ्ग्याएको छ भने स्कटल्याण्ड तीन अंकमै सीमित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

यता अमेरिकाको अटलान्टा स्टेडियममा भएको अर्को रोमाञ्चक खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गर्दै उपविजेताका रूपमा अर्को चरणको यात्रा तय गर्यो।

खेलको १०औँ मिनेटमा मोरक्कोका गोलकिपर यासिन बोनोको आत्मघाती गोलबाट हाइटीले अप्रत्याशित अग्रता लिएको थियो। तर ३९औँ मिनेटमा अचराफ हाकिमीले बराबरी गोल फर्काउँदै मोरक्कोलाई खेलमा फर्काए।

४३औँ मिनेटमा विल्सन इसिडोरले गोल गर्दै हाइटीलाई पुनः अग्रता दिलाए पनि पहिलो हाफको इन्जुरी समयमा इस्माइल साइबारीले गोल गरेपछि पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा मोरक्कोले उत्कृष्ट पुनरागमन गर्यो। ७८औँ मिनेटमा मैदान प्रवेश गरेका सुफियाने राहिमीले गोल गर्दै मोरक्कोलाई पहिलो पटक अग्रता दिलाए। त्यसपछि ८९औँ मिनेटमा युवा खेलाडी गेसिम यासिनले अर्को गोल थपेपछि मोरक्कोले ४–२ को शानदार जित दर्ता गर्यो।

समूह ‘सी’ बाट ब्राजिल समूह विजेता र मोरक्को उपविजेताका रूपमा नकआउट चरणमा पुगेका छन्। दुवै टोलीले उपाधि यात्रालाई निरन्तरता दिँदा स्कटल्याण्ड र हाइटीको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय