काठमाडौं । नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा यस वर्ष ३ सयभन्दा धेरै तीज गीत सार्वजनिक भए भने ती गीतका लागि करिब ४ करोड रुपैयाँभन्दा बढी लगानी भएको अनुमान गरिएको छ। प्रकाशित गीतमध्ये केही आलोचनाको शिकार बने भने केहीले भने राम्रो प्रशंसा पाए।
दर्शकहरूले कुन गीतलाई बढी मन पराए भन्ने कुरा सामाजिक सञ्जालमा भएको चर्चा र युट्युबमा कति पटक हेर्ने गरिएको छ भन्ने आधारमा समेत आकलन गरिन्छ। यही क्रममा गायिका एलिना चौहानको स्वरमा रहेको ‘छोरिको शिर आमा’ बोलको गीत यो समाचार तयार पार्दासम्म सबैभन्दा धेरै हेरिएको तीज गीत बनेको छ।
यस वर्षका तीज गीतमध्ये विशेष रूपमा जापानमा बसोबास गर्ने सर्जक प्रेम सापकोटा ‘सोनु’का सर्जना चर्चामा रहे। ‘छोरिको शिर आमा’सहित उनले सिर्जना गरेको अर्को गीत ‘कालि पसम की २’ पनि उल्लेख्य चर्चा पाएको छ।
जानकारहरूका अनुसार, ‘छोरिको शिर आमा’ गीतले लगानी उठाउनुका साथै अतिरिक्त आम्दानी समेत गरेको छ भने ‘कालि पसम की २’ पनि लगानी उठाउने क्रममा रहेको अनुमान गरिएको छ। करिब एक महिना अघि सार्वजनिक भएको ‘छोरिको शिर आमा’लाई यो समाचार तयार पार्दासम्म करिब ५९ लाख दर्शकले युट्युबमा हेरेका छन्। दर्शकहरूले दिएको प्रतिक्रिया पनि सकारात्मक रहेको छ।
गीतमा स्मारिक ढकालको उत्कृष्ट अभिनय देखिएको छ भने निर्देशन जेरि भण्डारीले गरेका हुन्। यसरी हेर्दा प्रेम सापकोटा यस वर्ष पनि अब्बल गीत सिर्जना गर्ने सर्जकको सूचीमा शीर्ष स्थानमा रहेका छन्।