आज नीति कार्यक्रम पारित गर्ने तयारी

प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त बैठकमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि वैशाख २२ गतेदेखि प्रतिनिधिसभामा सो विषयमा छलफल सुरु भएको थियो।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्रीले आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनेछन्। साथै, छलफलका क्रममा दर्ता गरिएका एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ।

आजको सम्भावित कार्यसूचीअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफलका लागि प्रस्ताव पेश गर्नेछन्। यस्तै, राष्ट्रियसभाको बैठक पनि दिउँसो १:१५ बजे बस्नेछ, जहाँ प्रधानमन्त्री ओलीले त्यहाँसमेत उठेका प्रश्नको जवाफ दिनेछन्। प्रतिनिधिसभाजस्तै राष्ट्रियसभामा पनि नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरी आजै पारित गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया