काठमाडौं–चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो ८ महिनामा गत वर्षको सोही अवधिको तुलनामा विजुली निर्यात घटेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १० अर्ब ४५ करोड ६८ लाख रुपैयाँको विद्युत भारतमा निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ५५ करोड ६९ लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा नेपालबाट भारतमा १३ अर्ब १ करोड ३७ लाख रुपैयाँमा विद्युत निर्यात भएको थियो ।
नेपालका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण पनि नेपालले विद्युत निर्यात गर्न नसक्दा विद्युत बिक्रीबाट हुने आय घटेको छ । विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले भने ‘गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले केही जलविद्युत आयोजनामा क्षति पुगेको थियो । त्यसैको असर विजुली निर्यातमा देखिएको हो ।’
असोज ११ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, वालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्याएको थियो उक्त समयमा आएको पहिरोले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा आंशिक्ष क्षति भयो । आयोजनाको विद्युत उत्पादन ८८ दिनपछि मात्रै सुरु भयो ।
असोज ११ गते साँझ ७ बजेदेखि आयोजनाको विद्युत उत्पादन बन्द भएको थियो । जसको असर नेपालले विद्युत निर्यातबाट हुने आयमा परेको छ । प्रवक्ता शिल्पकार माथिल्लो तामाकोशीमा बाढीले परेको क्षति र यो वर्ष बर्षा याममा विद्युत अघिल्ला वर्षको जति बिक्री गर्न नसकेको बताउँछन् । त्यसको असर विद्युत बिक्रीबाट हुने आयमा देखिएको हो ।