काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलमा पोर्चुगलले शानदार जित हासिल गरेको छ भने उपाधि दाबेदार इंग्ल्याण्ड घानासँग गोलरहित बराबरीमा रोकिएको छ।
समूह ‘के’ अन्तर्गत टेक्सासको ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० ले पराजित गर्दै प्रतियोगितामा बलियो पुनरागमन गरेको हो। पहिलो खेलमा कंगोसँग बराबरी खेलेको पोर्चुगलले यस जितसँगै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो चम्किए। उनले खेलको छैटौँ मिनेटमा जोआओ कान्सेलोको क्रसलाई गोलमा परिणत गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। यो गोलसँगै रोनाल्डो विश्वकपका ६ फरक संस्करणमा गोल गर्ने विश्वकै पहिलो पुरुष खेलाडी बने।
१७औँ मिनेटमा नुनो मेन्डिसले फ्रि–किकमार्फत आकर्षक गोल गर्दै अग्रता दोब्बर बनाए। ३९औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। यससँगै उनले विश्वकपमा आफ्नो गोल संख्या १० पुर्याउँदै पोर्चुगलका महान खेलाडी युसेबियोको ९ गोलको कीर्तिमानलाई उछिने।
६०औँ मिनेटमा उज्बेकिस्तानका गोलरक्षक अब्डुभोहिद नेमातोभको आत्मघाती गोलबाट पोर्चुगल ४–० ले अघि बढ्यो। त्यसपछि ८७औँ मिनेटमा वैकल्पिक खेलाडी राफाएल लेआओले गोल थप्दै ५–० को प्रभावशाली जित सुनिश्चित गरे।
यस जितसँगै पोर्चुगलले दुई खेलबाट चार अंक जोडेको छ भने उज्बेकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ।
यता समूह ‘एल’ अन्तर्गत बोस्टन स्टेडियममा भएको खेलमा इंग्ल्याण्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडे। खेलभर इंग्ल्याण्डले ७८.८ प्रतिशत बल पजेसन राखे पनि गोल गर्न असफल रह्यो। विश्वकप इतिहासमा गोल गर्न नसकेको टोलीमध्ये यो सबैभन्दा उच्च बल पजेसनको कीर्तिमानसमेत बनेको छ।
घानाका गोलरक्षक बेन्जामिन आसारे र रक्षापंक्तिले ह्यारी केन, जुड बेलिङ्घम र बुकायो साकालगायत इंग्लिस खेलाडीका प्रयासहरू विफल पारे। खेलको अन्त्यतिर निको ओ’राइलीको हेडर क्रसबारमा लागेर फर्किएको थियो भने त्यसपछि ह्यारी केनले प्राप्त अवसरलाई गोलमा परिणत गर्न सकेनन्। लगत्तै म्यार्क गुएहीको हेडरलाई घानाका डिफेन्डरले गोललाइनबाट क्लियर गरेका थिए।
विश्वकप इतिहासमा इंग्ल्याण्डको यो २३औँ बराबरी हो, जसमध्ये १३ खेल ०–० को नतिजामा टुङ्गिएका छन्। यी दुवै कीर्तिमान विश्वकपमा कुनै पनि टोलीका लागि सर्वाधिक हुन्।
बराबरीका बाबजुद इंग्ल्याण्ड चार अंकसहित समूह ‘एल’ को शीर्ष स्थानमा रहेको छ। अब उसले नकआउट चरणमा स्थान सुरक्षित गर्न अन्तिम खेलमा पानामाको सामना गर्नेछ। घानाले भने महत्वपूर्ण एक अंक जोड्दै अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ।